पर्यटनमा आयाम सेतीमा र्‍याफ्टिङ
धन बस्नेत
पोखरा



पोखरा ! शब्द नै कति मिठो छ । पश्चिममा कञ्चन फेवाताल, तालको दक्षिणमा विश्व शान्ति स्तुप, उत्तरमा सराङकोट अनि लमतन्न सेताम्मे अन्नपूर्ण हिमश्रृखंला । र मध्य भागमा रहेको सेती नदी । पोखराको बास्तविक विशेषता यहि नै हो ।


फेवातालमा कायाक, सराङकोटमा प्याराग्लाइडिङ अनि सेतीमा र्‍याफ्टिङ । पोखराको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख आधारहरु हुन् । प्याराग्लाइडिङले व्यवसायिक गति लिइसकेको अवस्थामा भर्खर मात्र मध्य भागमा रहेर बहने सेती नदीमा जलयात्रा (र्‍याफ्टिङ) शुरुवात मात्र भएको छ । सरकारले उपल्लो सेतीमा जलयात्रा गर्न स्वीकृति प्रदान गरेपछि रौनकता बढेको हो ।


जलयात्राको स्वीकृतिसँगै पोखरेली पर्यटन व्यवसायीमा खुशीको लहर देखा परेको छ । स्वीकृतिले हौसिएका एवं त्यसका पारखीहरु एवं सञ्चारकर्मीहरुले एकैसाथ मजा लुटिसकेका छन् । कुमारी माछापुच्छे्रको काखबाट बगेकी सेतीको कञ्चन र सितल पानीमा जलयात्रा (र्‍याफ्टिङ)को माध्यमबाट पर्यटकहरुले निकै आनन्द लिदैं आएका छन् । एडभेन्चर गेमको मुख्य आकर्षको रुपमा रहेको सेती नदीमा साहसिक जलयात्राको सम्भावना भएर पनि ओझेलमा परेको थियो । हुन त उपल्लो सेतीमा केवल दुइदेखि तीनघण्टाको अवधिसम्म जलयात्रा गर्न सकिन्छ । मर्दीको दोविल्लाबाट शुर्रुभई सिम्पानीस्थित नदीको बाँधसम्म करिव १२ किलोमिटर जलयात्रा गर्न उपयुक्त हुने विज्ञहरु बताउँछन् ।


उपल्लो सेतीमा जलयात्राको अति नै जोखिम नदीको रुपमा लिइने गरिन्छ । सारै नै खोंचमा बहने, त्यसमा पनि पटकैपिच्छे ठुला चट्टानहरु भेटिने हुनाले जोखिमसहित पूर्ण सन्तुष्टि मिल्ने अनुभवीहरुको भनाई छ । पोखरा पर्यटन परिषदका पूर्व महासचिव एवं टानका पूर्व अध्यक्ष समेत रहनुभएका टिकाराम सापकोटा भन्छन- "उपल्लो सेती बढी रक्की, रिस्की र रफ छ ।" जलयात्रा गर्दा जति बढी रिस्कीहुन्छ उति नै मजा हुन्छ ।


उपल्लो सेतीमा केवल एक महिनामात्र जलयात्रा उपयुक्त हुने गर्छ । सेप्टेम्बर १५ देखि अक्टोबरको १५ सम्म जलयात्रा गर्न अति उपयुक्त हुन उहाँको भनाई छ । त्यसपछिको समयमा त्यति उपयुक्त नभएपनि इच्छित व्यक्तिहरुले १४ फिटे डुङ्गाको सहायताबाट जलयात्रा गर्न सकिन्छ । एकमहिनाको अवधिमा १६ फिटे डुङ्गामा जलयात्रा गर्न सकिन्छ । पानीको बहाव कम हुने भएपछि चट्टानको मात्रा बढी देखिने हुनाले १४ फिटे डुङ्गामा जलयात्रा गर्न मिल्ने टानका महासचिव समेत रहनु भएका दाहाल अनुभव सुनाउँछन् । सरकारले उपल्लो सेतीमा जलयात्रा गर्न खुला गरिएपछि चेतना समूह कास्की र नेपाल रिभर कर्न्जभेसन प्रालिको आयोजनामा सेती नदी संरक्षण गरौं भन्ने मुल नारासहित दुइवर्षअघि महोत्सव अयोजना गरिएको थियो ।


पर्यटकहरु आर्कषण गर्ने नयाँ गन्तव्य स्थल रुपमा रहेको जलयात्रा अधिराज्यको १६ वटा नदीमा स्वीकृति प्रदान गरेको छ । तमोर,अरुण, तामाकोशी, सुनकोशी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, भेरी, पूर्वको बलेसी खोला, सेती र उपल्लो सेती नदीमा जलयात्रा सञ्चालनको स्वीकृति दिइएको छ । ती नदीहरुलाई पानीको बहावको आधारमा त्रिशुली, उपल्लोसेती, सेती, बलेसी खोला, बुढी गण्डकीलाई ३, कर्णाली, भेरी, तमोर, काली गण्डकी, सुनकोशीलाई ४ र अरुण, मर्स्याङदी, दुधकोशी, भोटेकोशी र तामाकोशीलाई ५ ग्रेडिङ गरिएको छ । नेपाल नदी संरक्षण कोषका अध्यक्ष मेघ आलेका अनुसार ती नदीमध्ये सवैभन्दा लामो कर्णाली १३ दिनको टि्रप हुन्छ । भर्खरैमात्र स्वीकृति पाएको उपल्लो सेती नदी जलयात्राका वहाव र बढी रिस्की भएकोले विदेशी पारखीहरुलाई नौलो र शहर नजिकै एडभेन्चर गेम पाउने एवं पर्यटकहरुलाई नौलो सन्तुष्टि मिल्नेमा ढुक्क छन अनुभवी आले ।


र्‍याफ्टिङको पृष्ठभुमिलाई हेर्दा नेपालमा आधा शताब्दीअघि देखि शुरुभएको हो । सगरमाथा आरोहण गर्ने पहिलो विदेशी सर एडमण्ड हिलारीले सन १९६९ अप्रिलमा नेपालमा जलयात्राको प्रारम्भ गरेका हुन् । उनले शुरुमा सवैभन्दा बढी जोखिम रहेको सुनकोशी नदीमा गरेका थिए । आधा शताब्दीअघि शुरु भएपनि नेपालमा यसले अझै व्यापकता भने पाउन सकेको छैन् ।


सन १९६९मा पहिलो पटक हिलारी सफल जलयात्रा गरेपछि विस्तारै नेपालीहरु माझ लोकप्रिय बन्न पुग्यो । त्यसको ६ वर्षछि जलयात्राले नेपालमा व्यवसायिक गतिलिन थाल्यो । सन १९७५ मा हिमालयन रिभर एक्प्लोरेशन नामक कम्पनीले व्यवसायिकता प्रदान गर्न अग्रसर रहृयो । त्यो समयमा केवल त्रिशुली सुनकोशी र दमौलीस्थित सेतीमा मात्र जलयात्रा गरिने गरिन्थ्यो । हिमालयनले शुरुगरेको पाँचवर्षछि करीव १९८० मा नेपालमा झण्डै २० वटा कम्पनीहरुले व्यवसायिक जलायात्रा थालनी गरेका थिए ।


सन १९९१ मा पोखरामा रेजिङ रिभर र्रनर्स कम्पनीको जन्मभएपछि जलयात्राको प्रारम्भ भएको हो । त्यो समयमा पनि उपल्लो सेतीमा स्वीकृति नपाइसकेकोले कम्पनीले ५० किलोमिटर परको सेती र त्रिशुली अनि मर्स्याङदीमा विदेशी पर्यटकलाई जलयात्रा गर्न पठाउनुपर्ने बाध्यता थियो । शुरुभएको आधा शताब्दीवितेपनि नेपालमा जलयात्रा गर्ने कम्पनीहरु केवल २५ को संख्यामा सक्रिय रहेका छन् भने ती कम्पनीका अधिकांश शाखा पोखरामा रहेको छ । पोखराको हदमा हेर्दा रिभर र्रनर्स, होलिडे एडभेन्चर र लोट्स वेभ्सले व्यवसायिकताको मूर्त रुप दिएका छन् । ती कम्पनीको एकै आवाज छ -पोखराको पर्यटन प्रवद्धन जलयात्रा कोशेढुङ्गा सावित हुन्छ ।