


विश्वप्रसिद्ध अन्नपुर्ण पदयात्रामा पर्ने विश्वकै अग्लो हिमाली भञ्ज्याङ थोराङला पास चढ्ने विदेशी पर्यटकहरू वर्षौपिच्छे बढिरहेकोमा युवापुस्ताका नेपालीहरू पनि बिस्तारै पदयात्राको आनन्द लिँदै थोराङ उक्लन आकषिर्त हुन थालेका छन् । यद्यपि लेक लाग्ने भयका कारण विदेशीहरूको दाँजोमा थोराङ चढ्ने नेपालीहरू भने अत्यन्त न्यून छन् ।
अग्ला हिमाल, हिमचुली आरोहण वा हिमालका आधार शिविरसम्म पुग्न नसक्नेहरू जीवनको र्सवाधिक उचाइको साहसिक पदयात्रा गर्न थोराङलापास पार गर्न मरिहत्ते गर्छन् । सात समुद्रपारिका व्यक्तिहरू डाँडाकाँडा पदयात्राको मज्जा लिँदै लौरो टेकेर पसिना काढ्दै थोराङ चढेर गौरव गर्ने गरेकोमा खासगरी युवापुस्ता अन्नपुर्ण चक्रीय पदयात्राको र्सवाधिक अग्लो हिमाली भञ्ज्याङ चढ्नेतर्फआकषिर्त हुन थालेको हो ।
लेक लाग्ने हाउगुजी, आत्मविश्वासको कमी र पदयात्रा मार्गको जानकारीको अभावले यो उचाइ चुम्न अधिकांश नेपाली विगतमा हिचकिचाउने गरे पनि हिमालपारिको भौगोलिक सुन्दरता, जैविक विविधता र साँस्कृतिक जनजीवनको अवलोकन गर्दै यस क्षेत्रमा जान थालेका छन् ।
सेरेन भ्याली बोर्डिङ स्कुल बानेश्वर काठमाडाँैका प्रिन्सिपल सुवास न्यौपानेलाई यो मुख्य पर्यटकीय मौसममा पदययात्राको आनन्द लिँदै विश्वकै अग्लो हिमाली भञ्ज्याङ थोराङ चढ्न सकेकोमा जीवनकै सबैभन्दा बढी आनन्द लागेको बताए ।
"आत्मविश्वासका साथ लेकबाट बच्ने र्सतकता अपनाएर बिस्तारै उचाइ लिएर हिँडेपछि थोराङ चढ्न गाह्रो छैन"- चारैतिर हिमाल र हिउँले ढाकिएको थोराङ पुग्दाको अनुभूति बर्णन गर्दै न्यौपानेले भने ।
ब्रहृमकुमारी् इश्वरी विश्वविद्यालय, दमौली शाखाका ब्रहृमकुमार राजु खड्काले उचाइका कारण दुई दिनसम्म खानपिनमा कठिनाइ भए पनि झोलिलो खानेकुरा खाएर दृढतापूवक थोराङपास गरेको बताए । "लेकले खानपीनमा कठिनाइ भयो तर जसरी पनि र्सवाधिक अग्लो हिमाली भञ्ज्याङ चढ्ने उत्कट इच्छाले त्यो भञ्ज्याङ पार गरेरै छोडे"- खडकाले भने ।
मुटुको अपरेसन गरेको दस महिना नबित्दै कास्की बेगनासका ऋषि बुढाथोकीले चिसो र लेक लाग्ने भयलाई तोड्दै आफूले कुनै व्यवधान थोराङ चढ्न सकेको बताए । "लेक लाग्छ भन्ने भयले संसारभरिकै विदेशीहरूको ओइरो लाग्ने थोराङ चढ्न नेपालीहरू बेखबर हुनुहुन्न युवापुस्ताले देश चिन्न र पदयात्राको आनन्द लिन थोराङ उक्लने साहस गर्नुपर्छ"- बुढाथोकी भन्छन् ।
विश्वकै दसौँ स्थानभित्र पर्ने अन्नपुर्ण पदयात्रा मार्गको मनाङ जिल्लामा पर्ने पाच हजार ४१६ मिटर उचाइको यो हिमाली भञ्ज्याङमा बर्सेर हजारौँ विदेशी पुग्छन् । पर्यटकसँग जाने भरिया र गाइडबाहेक घुम्ने दृष्टिकोणले थोराङ काट्ने नेपाली २००-४०० पनि पुग्दैनन् ।
लमजुङ्को बेँसीसहरबाट मनाङको धारापानी ताल गाउँ, चामे, माथिल्लो मनाङ हुदै फेदीबाट थोराङलापास चढ्ने सजिलो बाटो हो ।
टि हाउस टे्रकको यो मार्गमा होटलको कमी छैन । हप्ता-दस दिनमा थोराङलापास गरेर मुक्तिनाथ, जोमसोमबाट र्फकन सकिन्छ । तीन हजार ९०० मिटर उचाइको मुक्तिनाथ हुँदै थोराङपास गर्न सकिनो अर्के बाटो भए पनि ठाडो उकालो, कठिन र लामो समय लाग्ने हुँदा मनाङको बाटो नै उत्तम मानिन्छ । अन्नपुर्ण क्षेत्रको अनुपम प्राकृतिक सौर्न्दर्य, जीवन्त हिमाली संस्कृति, मनोरम हिमालहरू, थरीथरीका वनस्पति र जीवजन्तुजस्ता प्राकृतिक विविधताको अवलोकन गर्दै थोराङ उक्लेर पदयात्राको आनन्द लिनेहरू बढ्दै छन् । मनाङमा सन् २००१ मा १३ हजार पर्यटकले मनाङ घुमेकामा २००६ को तुलनामा ५२ प्रतिशत बढेर २००७ मा १४ हजार पर्यटकले मनाङ घुमे । फ्रेन्च, जर्मनी, अस्टे्रलियन, इजरायली पर्यटक बढी हुन्छन् ।
"मनाङ घुम्नेमध्ये ९० प्रतिशतले थोराङ पास गर्छन्"- अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख सन्तोष शेरचन भन्छन् । हिमालपारिको जिल्ला मनाङ घुम्न नेपालीहरू साह्रै कम पुग्छन् । "अनुसन्धानका लागि कन्सलटयान्ट र कर्मचारीबाहेक नेपालकै प्रमुख पर्यटकीयस्थल मनाङ घुम्ने वाषिर्क २००-३०० नेपाली पनि देखिन्न," एक्याप मनाङ प्रमुख शेरचन भन्छन् । थोराङला कट्ने उद्देश्यले आउने नेपाली सय पनि ननाघेको उनको ठम्याई छ ।
चिकित्सकले निषेध गरेकाबाहेक सामान्य औषधि र पूव होसियारी अपनाएर लसुनको सुप, पानी र झोलिलो पदार्थ खाँदै उचाइ चढे लेकबाट बच्न सकिन्छ । सामान्य औषधिले निको नभए उचाइबाट तलका बस्तीहरूमा झर्नु लेक लाग्नुबाट बच्ने उत्तम उपाय हुन् ।
"अधिक उचाइ उक्लनुपर्ने हुँदा थोराङ फेदी (चार हजार ४५० मिटर) मा बस्नेहरू सिजनमा राति १-२ बजेबाट पाँच/छ घण्टाको उकालो हिउँले ढाकिएको बाटोमा डेढ २०० सम्म पर्यटकका ताँती एकै समयमा बत्ती बाल्दै जुनकिरी झै उक्लन्छन्"- ११ वर्षेखि चार हजार ८५० मिटर उचाइको हाइक्याम्पमा होटल व्यवसाय गर्दै आएका केरुम गुरुङ् भन्छन् ।
फेदीबाट नेपालीलाई औसत रु. तीन हजारमा दुई घण्टामै घोडाबाट थोराङ काटन सकिन्छ । बाटो ठाडो उकालो छैन तर उचाइमा अक्सिजनको कमीले छिटो हिँड्न गाह्रो पर्छ । फेदीमा झन्डै २०० अटाउने र हाइक्याम्पमा पनि डेढसय पर्यटक अटाउने एउटा होटल छ । सिजनमा भञ्ज्याङसम्म चिया बेच्नेहरू पाइँन्छन् ।
भञ्ज्याङमा १० बजेपछि हावा चल्ने हुँदा ढिलोमा बिहान पाँच/छ बजे हिँडिसक्नुपर्छ । तागत र लेकबाट बच्न सुप, ग्लुकोज पानी, कोक, छिटो तागत दिने चकलेट, बिस्कुट, हल्का प्याक खाना वा तरल पदार्थ खाँदै पदयात्री उक्लन्छन् । असोजदेखि मङ्सिर र फागुनदेखि वैशाखमा हिमालचुली देखिने, हिउँ हुने, मौसम सफा र बाटो सजिलो हुनाले थोराङ चढ्नेहरू अत्यधिक हुन्छन् । अफ सिजनमा फाटफुट पर्यटकहरू मनाङ हुँदै थोराङ चढेर मुक्तिनाथ, जोमसोम, घोरेपानी वा बेनीहुँदै राउन्ड अन्नपुर्ण गर्छन् । विगतमा २१ दिनको चक्रिय अन्नपुर्ण पदयात्रा निर्माणाधीन बेसीसहर चामे ६७ किमि मोटरबाटो र वेनी मुक्तिनाथ झन्डै १०० किमि हिउँदमा पुरै मोटर चल्न थालेकोले तीन हप्ताको पदयात्रा छोट्टएर दस दिनमा झरेको छ ।
पच्चीस वर्षघि भरियाका रूपमा थोराङ हुँदै ३५ दिनमा चक्रिय अन्नपुर्ण पदयात्रा गरिसकेका पाइक पिक टे्रकिङ प्रालिका फूवा तामाङ नेपालीहरू अझैपनि थोराङ भन्नासाथ लेक लाग्ने हाउगुजीले तर्सने बताउँछन् । "संसारभरकै पर्यटक आउँछन्, आफ्नै देशका डराउँछन् थोराङला पार गर्न"- तामाङ भन्छन् । तरपनि बाह्रै महिना थोराङ पास पदयात्रा सजिलो बनाउन मनोरम हिमाली दृश्य, बसोवास, भौगोलिक वातावरण, हिमाली भञ्ज्याङबारे व्यापक प्रचार गर्न स्थानीय पर्यटन व्यवसायीहरू जुर्मुराएका छन् । हिउँदमा बाक्लो हिउँ पर्दा फालेर बाटो देखाउने गाइडको व्यवस्था र पदयात्री फसेमा उद्धार गर्न सन् २००८ बाट कार्यक्रम थालिएको छ । एक्यापले रु. एक लाख दिएको र व्यवसायीले रकम जुटाइरहेका छन् ।
मनाङ युथ सोसाइटीका अध्यक्ष विनोद गुरुङ मनाङमा मोटरबाटो निर्माणसँगै साहसिक पर्यटनका लागि वैकल्पिक पदयात्रा मार्ग खोल्ने र थोराङ पासको साहसिक पदयात्राको महत्वबारे प्रचार गर्न राज्यले पनि ध्यान दिनुपर्ने बताउँछन् ।
सिजनमा मात्र नभई अफसिजनमा बढी साहसिक यात्रा गर्नेहरूलाई लक्षित गरी १२ महिना नै थोराङपास गर्न व्यवसायी र सरकार हातेमालो गरेर प्रचार गर्न सकिए विश्वकै पर्यटकको उत्कृष्ट र पहिलो रोजाइको गन्तव्य बनाउन सकिन्छ थोराङलापास"- विनोद भन्छन् ।
बढ्दो पदयात्रीसँगै थोराङ भञ्ज्याङमा फलफूलका रस, कोक, पानीका बोतल, चकलेट आदि खाँदै जाने र थोराङ भञ्ज्याङमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति पनि बढेको छ । जुत्ता, टोपी, प्लास्टिक, सिसाका बोतल, टिनका डब्बा, थर्मस, चाउचाउका प्याकेट, गिलास, चप्पल, कपडाहरू, औषधिका डब्बा र कागजहरू भञ्ज्याङमा थुप्रिएका छन् । स्थानीय व्यवसायीले जलाउने र नजल्ने फोहोर गाड्ने गर्छन् । एक्यापले पर्यटकलाई ब्रोसरमा फोहोर फाल्ने तरिका बताएको छ तर फोहोर फाल्ने डस्टवीन र सङ्कलन केन्द्र भञ्ज्याङमा छैन ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |