

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम यतिखेर चर्चामा छन् । संयुक्त सरकारमा सहभागी एमालेको नेतृत्वकर्ता गौतमले शपथग्रहण लगत्तै सुरक्षा व्यवस्थामा कडाइ गर्न दिएको आदेशले रात्रिकालीन व्यवसाय जोखिममा परेको व्यवसायीहरूले तर्क गरेका छन् । यस विषयमा गृहमन्त्री गौतमसँग साप्ताहिकले गरेको कुराकानी :
१) चर्चा कमाउन यस्तो निर्णय लिइएको हो ?
वामदेव गौतमले चर्चा कमाउन यसो गरिरहनुपर्दैन । मुलुकका नागरिकले सहज जीवनयापन गर्ने वातावरण बनोस् भनेर मैले सुरक्षा व्यवस्था कडा गर्न निर्देशन दिएको मात्र हो । मेरो कार्यकालमा गृह प्रशासनलाई जनताको सुरक्षाका निम्ति तम्तयार राख्नुपर्छ भन्ने मान्यताअनुसार यसो गरिएको हो ।
२) तपाईंले बताउन नमिल्ने मिसन भनेर के भन्न खोज्नुभएको नि ?
मेरो मिसन भनेको नाङ्गो नाच देखाएर लुट्ने प्रवृत्तिको अन्त्य हो । म कुनै पनि हालतमा नाङ्गो नाचलाई रोकेरै छोड्छु । समाजलाई घातक असर पार्ने डान्स रेस्टुरेन्टको म घोर विरोधी हुँ । त्यसैगरी क्यासिनोमा नेपालीहरू जाने चलनलाई पनि ठप्प पार्नु, अन्तशुल्कले अनुमति नदिएका रक्सीको बेचविखन रोक्नु, सहज रूपमा जनताले बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नु नै मेरो मिसन हो ।
३) तपाईंको यो कदमले रात्रिकालीन व्यवसायका हजारौं मानिस बेरोजगार हुन्छन् नि होइन ?
सबैले बुझ्नुपर्यो । सबैले अनुशासित ढंगले चल्नुपर्छ । एउटालाई अर्काको अधिकार हनन गर्ने अधिकार छैन । मैले रात्रि व्यवसाय बन्द गर्नुपर्छ भनेको छैन, तर अनुचित तरिकाले चलाइएका धन्दालाई भने बामदेव गौतमले रोकेरै छोड्छ । अहिलेको यो अपरेसनले सभ्य र शान्त शैलीमा चलेका व्यवसायलाई असर पुर्याउँदैन । समाज सुहाउँदो शैलीमा व्यवसाय चलाए भयो नि, त्यसले कसैको रोजगार खोस्दैन ।
४) ११ बजेभित्र बन्द गर्नुपर्छ भनेपछि सबैलाई असर परेन त ?
म पनि शान्त रात्रिजीवनलाई सञ्चालन गर्न दिइनुपर्छ भन्ने मान्यताकै हुँ । सभ्य शैलीमा खानपान र संगीतको मज्जा लिन कसैलाई रोक्न हुँदैन, तर त्यसले समाजलाई खलबल गर्छ भने, लुटपाट वा आपराधिक गतिविधिलाई बढावा दिन्छ भने त्यस्ता व्यवसायलाई रोक्नुपर्छ । मैले सुरक्षा निकायका नेतृत्वकर्ताहरूलाई नाङ्गो नाच र क्यासिनोमा नेपाली प्रवेशबाहेक अन्यत्र लचकता अपनाउन भनेको छु ।
५) दसैंको मुखमा रात्रि व्यवसाय बन्द भएपछि बेरोजगार बनेकाहरूले लुटपाट मच्चाउन थाले भने के होला ?
आपराधिक क्रियाकलापमा संलग्न हुनेहरूलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिएको छु । यदि तिनीहरू अपराधमा संलग्न भएँ भने झन् ठूलो सजाय गरिनेछ । गलत काम गर्नेलाई नगर भन्दाभन्दै आपराधिक क्रियाकलापमा संलग्न हुन्छ भने त्यो झन धेरै दण्डको भागीदार बन्छ ।
६) सरकारको यो नीति स्थायी हो कि केही समयका लागि मात्र हो ?
म मेरो कार्यकालमा यो मिसनलाई सफल बनाएरै छोड्छु । बामदेव गौतम रहे पनि नरहे पनि भोलिको नयाँ नेपालमा यस्ता गतिविधिहरू पूर्णत : बन्देज भएर जाने वातावरण सृजना गर्छु यदि कसैले कानुन बनाएर ल्याउँछन् भने त्यसको कुरा बेग्लै हो । जस्तै क्यासिनोमा नेपाली प्रवेशको विषयलाई कानुनी मान्यता दिइयो भने गृह प्रशासनले त्यस अनुरूपकै व्यवहार गर्छ ।
७) विदेशमा पनि पर्यटकिय स्थलहरूमा २४ सै घण्टा व्यवसाय चलाउने अनुमति दिइन्छ, यहाँ किन नियन्त्रण गरिएको हो ?
हाम्रो समाज पेरिस, लन्डन जस्तो विकसित अवस्थामा पुगिसकेको छैन् । यहाँ त अपराध बढाउने मुख्य जडका रूपमा नाङ्गो नाच देखाउने थलो स्थापित भएकाले यसलाई नियन्त्रण गर्नुपरेको हो । अहिले नै विदेशको जस्तो खुलापन यहाँ आवश्यक छैन् ।
८) अपराध बढ्दै गएको अहिलेको समाजमा स्थायी रूपमा अपराध नियन्त्रण गर्न सकिएला र ?
तपाईं अपराध बढ्दै गएको भनेर भ्रममा हुनुहुन्छ । अहिले त आपराधिक क्रियाकलाप धेरै कम भैरहेको छ । मेरो मिसन भनेकै अपराध नियन्त्रित समाज निर्माण गर्नु हो ।
९) दबाबमा आएर तपाईंले यो निर्णय परिवर्तन ल्याउनुपर्ने भयो भने के होला ?
यदि डान्स रेस्टुरेन्टवालाहरू हामी सच्चिन तयार छौं भन्छन् भने त्यस्तो अवस्थामा अवश्य पनि उनीहरूलाई अवसर दिइनेछ । समाजलाई विकृत बनाउने नाङ्गो नाच नदेखाई रेस्टुरेन्ट व्यवसाय चलाउँछन् भने वामदेव गौतम उनीहरूको कुरा सुन्न तयार छ । समाजलाई मर्यादित राखेर उनीहरूले व्यवसाय चलाउन पाउँछन्, तर यसैलाइ चल्न दिने भन्ने कुरामा म कुनै पनि हालतमा मान्न तयार छैन ।
साभार : कान्तिपुर साप्ताहिक
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |