कर्म गरे नेपालमै हुन्छ - अनुज बास्तोला
सुवास पौडेल
पोखारा



पिता टिका राम बास्तोला र माता सिता बास्तोलाका कान्छा सुपुत्रका रुपमा वि.स.२०२६ साल फागुन २७ गते पोखाराको महेन्द्रपुलमा जन्मिनु भएका अनुज बास्तोला आजको समयमा आईपुग्दा सफल युवा उद्यमीको रुपमा चिरपरिचित बन्न सफल हुनुभएको छ । पोखरामा इन्टरनेट सर्भिस प्रोभाईडरको  संचालकका रुपमा रहनु भएका बास्तोला युवा उद्यमी संस्था (YES) का संस्थापक सदस्य तथा अखिल नेपाल सफ्ट टेनिस संघका अध्यक्ष पनि हुनु हुन्छ । पोखरामा इन्टरनेट संजाललाई दिनप्रतिदिन आफ्नो कब्जामा लिन सफल भईरहेको वर्ड लिङ्क पोखरा कम्युनिकेशन प्रा.लि., ३७ वसन्त पार गरेका बास्तोलाको नेतृत्वमा सफलताका पाइलाहरु चुम्दै अगाडी बढीरहेको छ । अब चाडै नै (दशैभित्र) Wireless Internet Service जुन अहिले र्सवसाधारण जनताको पँहुच बाहिर रहेको छ त्यसलाई आम उपभोक्ताको पँहुचमा ल्याउने तयारीमा यतिबेला वर्ड लिङ्क बास्तोलाकै नेतृत्वमा जुटिरहेको छ ।

जीवन  चलाउनका लागि व्यवसायिक क्षेत्रमा होमिनु भएका बास्तोला आजको Worldlink Pokhara Communication Pvt. Ltd. का सञ्चालकको रुपमा आफ्नो पहिचान बनाउन सफल बास्तोलासँग लभ्लिपोखराले गरेको कुराकानी ।



१. व्यवसायमा कसरी प्रवेश गर्नुभयो ?

 >> म २१ वर्षो थिएँ, डिप्लोमा अध्ययनरत थिए, त्यहीँ समयमा अन्तरजातिय विवाह गरें । त्यस विवाहलाई परिवारले स्वीकार नगरेपछि जीवन त चलाउनै पर्‍यो । अनि बाच्नैको लागि व्यवसायमा हात हालें । त्यस समयमा लेकसाइडको बजार राम्रो थियो त्यसैले काठमाडौंबाट सामान ल्याएर लेकसाइडमा साइकलद्धारा सामान होलसेलमा बिक्री गर्थे । त्यहीँबाट नै मेरो व्यवसायको सुरुवात भयो ।



२. होलसेलबाट व्यवसायमा प्रवेश गर्नु भएको कसरी वर्ड लिङ्कसम्म आइपुग्नु भयो त ? यो त एकदमै फरक धार भएन र ?

 >> हो । कहाँ होलसेल कहाँ ......, यसमा धेरै नै भिन्नता छ । म होलसेलबाट यहाँसम्म आइपुग्दाको कथा निकै लामो छ । सुरुमा बाच्नका लागि गरेको होलसेल व्यवसाय गर्दा गर्दै भिडियो सम्बन्धि काममा रुचि भएकाले भिडियो क्यासेट  सेन्टर्स् सञ्चालन गरे फेरि त्यसपछि रेष्टुरेन्ट तर्फै पाइला चाले तर रेष्टुरेन्ट असफल भएपछि म विदेश तर्फ लागें । हङकङमा करिव ६ बर्षबसेर नेपाल फर्किएपछि नै भिडियोप्रतिको लगावका कारणले गर्दा Internet / communication मा नै काम गर्न रुचि लाग्यो र बिगत ६ वर्षदेखि यस क्षेत्रमा आवद्ध छु भने वर्ड लिङ्कसँग ३ वर्षदेखि सँगै छु ।



३. हङकङ पुग्नु भएको मानिस फेरि किन नेपाल नै र्फकनु भयो ? के त्यहाँ बसेर पैसा कमाउनु भएन ?

 >>  ६ वर्षहङकङ बस्दा पैसा त कमाएँ तर कुनै दिन पनि आत्मसन्तुष्टी भने भएन । त्यसपछि आत्मसन्तोष कै लागि नेपाल फर्किएं । मेरो मनमा जहिले पनि नेपालमा नै गएर केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहृयो, आफु जन्मेको ठाँउमा नै केही गर्छु भन्ने मनको एकहोरो लगावका कारण र पारिवारिक सम्बन्ध सुमधुर बनाउनका लागि नेपाल फर्किए र यहीँ नै काम गर्न थाले ।



४. छोटो समयमा नै वर्ड लिङ्क ........ले निकै सफलता हात पारेको छ । यसको सफलताको पछाडीको कारण के हो ?

 >> निकै सफलता भन्दा पनि यतिबेला म बाँमे र्सर्दैछु । मलाई बाँमे र्सनाका लागि मेरी श्रीमतीको शतप्रतिशत सपोर्ट, पारिवारिक सहयोग र महत्वपूर्ण त स्टाफको सहयोग नै संस्थालाई यहाँसम्म ल्याउने आधार बनेको छ । खास कुरा त म कर्म गर्ने मान्छे, मलाई कर्ममा विश्वास छ, जतिबेला मैले असफलता पाएँ त्यसमा पनि मेरो कर्मको नै प्रमुख कारण छ भने आजको सफलताको पछाडी पनि मेरो कर्म नै प्रमुख कारण हो । मलाई भाग्य भन्दा कर्ममाथि विश्वास छ र म सधैं कर्म नै गरिरहन्छु ।

 
 ५. देशको युवा शक्ति दिनप्रतिदिन विदेशिएको छ । उनीहरुलाई के भन्नुहुन्छ ?
 
 >> विदेशमा पैसा त पक्कै कमाइन्छ तर आत्मसन्तोष कहिल्यै हुदैन र सबैभन्दा ठुलो आत्मसन्तोष नै हो । अहिलेको समयमा प्रत्येक घरबाट एक न एक व्यक्ति विदेशिएको नै छ, उनीहरु यसरी विदेशिनुमा एक त उनीहरुले स्वदेशका अप्ठ्याराहरुसँग जुध्नका लागि डराएका हुन भने अर्कौ उनीहरु विभिन्न वहानामा विदेशिएका छन ।



६. नेपालमा जहाँ जे काम गरेपनि सबैभन्दा प्राथमिकतामा अनुभव नै आवश्यक पर्ने भएकाले गर्दा नयाँ पिँढीले काम नपाएको अवस्था छ । यसलाई तपाईले कसरी हेर्नुभएको छ ?

>> पक्कैपनि नेपालमा अधिकांश स्थानमा अनुभवलाई नै प्राथमिकता दिइन्छ र मैले अगाडी नै भनिसकेँ की नयाँ युवा पिढीलाई प्रोत्साहन गर्ने व्यक्तिको कमी छ । तर म अनुभवलाई मात्रै सबैकुरा पनि मान्दिन । वर्ड लिङ्कमा धेरै स्टाफहरु अनुभव बिना नै आवद्ध भएका छन । काम दिनका लागि स्टाफहरुको शिक्षा लगायत अन्य कुरामा पनि ध्यान दिनुपर्छ । तर कतिपय विभागमा अनुभवको आवश्यकता पनि पर्ने गर्दछ । यसको अर्थ यो होइन की अनुभव नै सबै कुरा हो । झन नयाँ पिढीँसँग नयाँ सोचका साथ जोश र जागर हुन्छ, त्यसको सही प्रयोग गर्न सकेमा संगठनलाई एकदमै फाइदा पुग्दछ ।



७. (प्रशङ्ग बदलौं) अहिले पेट्रोलियम पदार्थको अभाव देखिएको छ । के यो वास्तविक अभाव हो जस्तो लाग्छ ?

>> साच्चै नै अहिलेको नयाँ नेपालले धेरै समस्या मात्रै दिई रहेको छ । पेट्रोलियम पदार्थको समस्याको समस्याले र मुल्य वृद्धिले गर्दा कतिपय व्यवसायहरु धराशयी समेत बनेको अवस्था छ भने प्रत्येक व्यवसाय र आमउपभोक्तालाई यसले नकारात्मक असर पारिरहेको छ । जसरी पेट्रोलियम पदार्थको अभाव देखिएको छ यो हेर्दा लाग्छ यो वास्तविक अभाव नभएर राजनैतिक कुराहरुले गर्दा यस्तो भएको हो जस्तो लाग्छ ।



८. अब बन्ने सरकारले व्यवसायीका लागि कस्तो नीति ल्याउनुपर्छ भन्ने लाग्छ ?

>> अब बन्ने सरकारले प्रतिष्पर्धालाई नै मध्यनजर गरेर नीति तय गर्नुपर्छ । व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्दछ, व्यवसायीको लगानीको सुरक्षा हुनुपर्छ । अहिले कहाँ के हुन्छ केहि भन्न सकिने अवस्था छैन, यस्तोमा व्यवसायीहरुले मन लगाएर काम गर्न पनि सक्दैनन र व्यवसाय फस्टाउन पनि सक्दैन । सँगसँगै हामीहरुले तिरेको करको सही प्रयोग अब बन्ने सरकारले गर्नुपर्छ । म भ्याट बिल मात्रै प्रयोग गर्छु र सरकारले तिरेको करको कहाँ प्रयोग भईरहेछ त्यसको अत्तोपत्तो नै छैन । एक पटक करको सही प्रयोग भयो भएन भन्ने बारेमा समेत बहस गर्नुपर्ने अवस्था देखिएको छ र त्यसको बारेमा समेत नयाँ बन्ने सरकारले सोच्नुपर्छ ।



९. तपाई युवा उद्यमी सस्थामा पनि आवद्ध हुनुहुन्छ । त्यहाँ व्यवसायी बीचको सम्बन्ध कस्तो रहेको छ ?

>> युवा उद्यमी सस्थामुह सम्पूर्ण युवा उद्यमीका लागि त्यस्तो थलो बनेको छ, जहाँ हामी सबै कुराका बारेमा छलफल गर्न सक्छौं । हामी त्यहाँ व्यवसायका राम्रा कुरा मात्र नभएर आफुलाई परेका अप्ठ्याराहरु समेत प्रष्ट्र रुपमा राख्ने गर्दछौ, त्यसपछि ती समस्याका बारेमा छलफल हुन्छ र सही निष्कर्षनिस्कन्छ । आजको प्रतिस्पर्धाको युगमा हामीलाई अगाडी बढ्नको लागि युवा उद्यमी सस्था एकदमै सहायक सिद्ध भएको छ ।



१०. एकैछिन पारिवारिक कुरा तर्फ लागौं । परिवारसँगको बिछोडले नै तपाईलाई व्यवसायमा हुम्यो अहिले कस्तो छ पारिवारिक सम्बन्ध ?

>> म डिप्लोमा पढ्दै थिए, त्यहीँ समयमा म व्याटमेन्टनको राष्ट्रिय खेलाडी समेत थिए । खेल कै क्रममा मेरो पद्मासँग भेट भयो, उनी पनि व्याटमेन्टन खेलाडी नै थिइन । त्यसपछि खेल खेल्दाखेल्दै हामी बीच प्रेम भयो र विवाह पनि तर परिवारले पद्मा गुरुङ भएकाले हाम्रो सम्बन्ध स्वीकार गरेनन । पद्मासँगको नयाँ सम्बन्ध सँगसँगै म व्यवसायमा लागें पछि यहाँबाट हङकङ गएँ । ६ वर्षो हङकङ बसाइँपछि मेरो परिवारसँग सम्बन्ध सुमधुर बन्न लाग्यो र म परिवारको सपोर्ट पाएर नै नेपाल फर्किएँ । अहिले बुबा, आमा, दाई, भाउजु सबैले सहयोग गर्नुहुन्छ, अहिले हामी बीचको आपसी सम्बन्ध एकदमै सुमधुर रहेको छ ।



११. तपाई व्याटमेन्टनको राष्ट्रिय खेलाडी र हाल अखिल नेपाल सफ्ट  टेनिस संघ,  कास्कीको अध्यक्ष पदमा समेत हुनुहुन्छ ।सफ्ट  टेनिस नयाँ खेलको रुपमा आएको छ, यसलाई कसरी अगाडी बढाउने सोच बनाउनु भएको छ ?

>> जापानबाट सुरु भएको सफ्ट टेनिस नेपालको लागि नयाँ खेल हो तर यसको भविष्य नेपालमा राम्रो देखेको छु । अहिले हामी सुरुवाती चरणमा भएकाले यसलाई विद्यालय स्तरबाट नै माथी उठाउने प्रयासमा छौं । हामी विद्यालयबाट केहि विद्यार्थीलाई लिएर उनीहरुलाई प्रशिक्षण दिने सोचमा रहेका छौं । खेल खेल्ने उमेर नै विद्यार्थी जीवन भएकाले आशा छ हामी सफ्ट टेनिसको विकास गर्न विद्यार्थीको सहयोगले सफल हुनेछौं ।



१२. अन्त्यमा, युवाहरुलाई के भन्न चाहनुहुन्छ ?

>> भाग्य भनेर बसेर केहि पनि हुदैन, कर्म गर्नुपर्छ । कर्म गर्‍यो भने नेपालमा नै धेरै गर्न सकिन्छ । नयाँ सोच र जोशको प्रयोग नेपालमा नै गर्ने हो भने साच्चै नै नेपालमा आर्थिक क्रान्ति सम्भव छ ।