


असारको चटारो र रोपाई महोत्सव
असारको महिना त्यसै त किसानहरुका लागि व्यस्त महिना । यतिबेला कामको चटारोले किसानहरुलाई भ्याइ नभ्याई छ । मानो खाएर मुरी उब्जाउने समयको रुपमा लिदै किसानहरु यतिबेला खेतबारी व्यस्त देखिन्छन् । जेठको अन्तिम हप्तादेखि नै रोपाइ शुरु भए पनि यस पटक भने असार महिना लागेपछि नै रोपाईको काम थालिएको छ । यहाँ पाइला राखेपछि विदेशी मात्र हैन स्वदेशीको पनि मन प्रफुल्ल हुन्छ ।
बिहानी देखि साझ सम्म किसानहरु रोपाईमा नै व्यस्त देखिन्छन् । आधुनिकताले ल्याएको परिवर्तन संगै शहरमा रोपाईमा हलगोरुको चलन विस्तारै पातलिदै गइरहेको छ । हलगोरुको ठाउँमा टयाक्टरको प्रयोगले पुराना चलन र संस्कृति हराउदै गइरहेको छ । तर गाउँघरमा भने हलगोरुकै चलन विद्यामान रहेको छ । एक प्रकारले भन्दा रोपाई नेपालीहरुको एउटा ठुलो उत्सव नै हो । सारा दुख विर्सेर किसानहरु खेतमा हिलो खेल्दै रोपाईमा व्यस्त हुन्छन् । सारा थकानलाई एकातिर पन्छाएर रमाइलोका लागि हिलो छयाप-छयाप गरेर कामको बोझलाई बिर्सन्छन् पनि । असार भाका घन्काउदै खेतालीहरुको घम्साघम्सीले रोपाईको मौसम विछट्टै रमाइलो हुन्छ ।
मुलुकका विभिन्न भागमा जस्तै पर्यटकीय नगरी पोखराका विभिन्न फाटहरुमा यतिबेला रोपाई महोत्सवको तामझाम बेग्लै देखिएको छ । पोखरा आसपासका फाँटहरुमा रोपाईको माचोले शहरको वातावरणलाई पनि व्यस्त तुल्याईदिएको छ । ह ह माले ह खेतालीहरुको रोपाई गीतले फाँट रनक्क भएको छ ।
असारै मासको दबदबे हिलो,छि मलाई घिन लायो ।
पातली नानीलाई फरिया किन्दा, छ बिस ऋण लायो ।
यी यस्तै असारे भाकाहरुले खेतहरु घकिन्कएका छन् । तर हिजोआज विगतको तुलनामा यस्ता असारे भाकाहरु कमै मात्रमा सुन्न सकिन्छ । आधुनिकताले छोएपछि पाश्चात्य संगीत तर्फढल्कने प्रवृत्तिले आफनै परम्परागत संस्कृति बोकेको असारे भाका पनि लोप हुने अवस्थामा पुगेको छ । यो चिन्ताले यतिबेला धेरै किसानहरुलाई सताएको छ । असारे भाका घन्काउदै हिलो खेल्ने प्रचलन हराउदै गएकोमा चिन्ता व्यक्त हुनु निश्चित रुपमा आफनो परम्परा र संस्कृति प्रति चिन्तित हुनु नै हो । हुन पनि शहरीया युवापुस्तामा असारे रोपाईको बारेमा थोरै पनि ज्ञान छैन । हिलोमा पस्दा सानो भइन्छ की भन्ने एउटा हिनताको भाव उनिहरुमा देखिन्छ । कृषिप्रधान देशमा यस्तो हुनु ज्यादै दुखको कुरा मान्नुपर्छ ।
युवायुवतिलाई रोपाईको बारेमा चेतना जोगाउन तथा आन्तिरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषदले वर्षोनी रोपाई महोत्सव गदै आएको छ । असार पन्ध्र को दिन परिषदले तीन वर्षअघि देखि रोपाईको उत्सव गर्न थालेको हो । कृषकलाई प्रोत्साहन एवं संस्कृतिको जर्गैर्ना गर्नु पनि महोत्सवले उद्देश्य राखेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी पोखरा सवै मौसमका लागि भन्ने नाराका साथ चौथो असार रोपाई महोत्सव यस पटक पनि असार १५ मा बेगनासताल नजिककैको फाटमा आयोजित हुदैछ । यस अघि पाल्पाली विरुवा फाटमा दुइ पटक र सेदी फाँटमा रोपाइ जात्रा भइसकेको छ । जुन महोत्सवहरुमा विदेशी पर्यटकहरुको आकर्षा उल्लेख्य रुपमा पाइएको छ । विशेषत विदेशीहरुलाई नेपाली मौलिक परम्परा र रोपाई संस्कृतिको बारेमा धेरै भन्दा धेरै जानकारी दिनमा यो महोत्सवले सघाउ पुर्याएको पाईन्छ ।
हुन त असार १५ को दिन हरेकले एक पटक हिलोमा टेक्नै पर्छ भन्ने पुरानो मान्यता अहिले सम्म पनि विद्यमान रही रहेको छ । यसैलाई जीवन्त दिन केटाकेटी देखि बुढाबुढी यस दिन खेतको हिलोमा पस्ने गर्छन । यही महतपूर्ण दिनलाई सदपुयोग गदै पोखरा पर्यटन परिषदले आन्तिरिक तथा बाह्य पर्यटकहरुलाई भेला गराएर असार रोपाई महोत्सव गर्न लागेको हो । केवल पर्यटन प्रवर्द्धन मात्र नभई यसले हाम्रो परम्परागत संस्कृति एवं आम कृषकहरुलाई पनि महोत्सवले प्रोत्साहन गर्नेछ । महोत्सव केवल हल गोरु कुदाउने र हिलो खेल्ने कार्यमा मात्र केन्द्रित रहने छैन ।
महोत्सवलाई आकर्ष र रोचक तुल्याउन विविद्य सांस्कृतिक कार्यक्रमहरु पनि रहने छन् । यसका अलवा रोपाई तथा असारे गीत प्रतियोगिता, हिलो खेत सम्माउने र हिलोमा पर्यटक दौड प्रतियोगितामा जस्ता रमाइला खेलहरु पनि समाविष्ट छन् । बढी भन्दा बढी पर्यटकहरुलाई सहभागी गराएर मनोरञ्जन प्रदान गरी परम्परागत संस्कृतिलाई संवोधन र संरक्षण गर्नु पनि कार्यकमको उद्देश्य हो, परिषदका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ भन्छन्- 'महोत्सवले पर्यटक बढाउनमा पनि मदत गर्नेछ ।' अहिले देखि नै रोपाइ महोत्सवको निम्तो बाडदै पर्यटन व्यवसायीहरु लागिपरेका छन् ।
पोखरा भ्रमण वर्ष२००७ चालु रहेकै बेला आयोजना हुन लागेको यो महोत्सवले निश्चित रुपमा पर्यटकहरुलाई आकषिर्त गर्नेछ । तर अहिले पर्यटकहरुका लागि अफ सिजन मानिन्छ । तर पनि नेपाल बर्साईमा रहेका पर्यटकरुलाई रोपाइ महोत्सवमा सहभागि हुन पर्यटन व्यवसायीहरुले निम्तो दिइसकेका छन् । अहिले मुलुकको अवस्था पनि केही अनुकूल देखिएकोले यस पटक महोत्सवमा जमघट राम्रै हुने अपेक्षा आयोजकहरुले गरेका छन् । असारे खाजा, दही च्युराको स्वाद चखाउदै रमाइलो असारे महोत्सवमा सहमागी हुन सवै उत्सुक देखिएका छन् । नदेखिउन पनि किन - असार १५ को दिन आफैमा रमाइलो र रमाइलो चार्ड नै हो । गाउँघर जताततै यस दिन खेतका फाँटहरु उधुमै रमाइलो हुने गर्छ । त्यसैको झझल्को मेटाउन पर्यटन व्यवसायीहरुले असार १५ लाई रोपाइ महोत्सवको रुपमा मनाउदै आएका हुन । नेपाल पर्यटन बोर्डले प्रवर्धन गर्ने रोपाई जात्राको तयारी शुरु भइसकेको छ । रोपाई महोत्सवमा सवैलाई सहभागी हुन निम्तो दिदै पोखरेली पर्यटन व्यवसायीहरु यसो भन्छन्-
छुपुमा छुपु खेत है रोपौ हातमा विउ छउन्जेल
बाँडेर लाम्ला बाडेर खाम्ला पाखुरी जिउ छउन्जेल
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |