माछा मार्न जाउ है-फेवातालैमा
धन बस्नेत
पोखरा



गर्मीको मौसम । डुंगामा बस्दै तालको बीचमा शितल हावा खाँदै माछा मार्ने रहर कसको नहोला । फराकिलो तालमा डुंगामा कावा खादैं बल्छी थापेर माछा मार्नुको आनन्द नै बेग्लै हुन्छ । धित मरुन्जेल बल्छी थाप्दै माछा मार्न भने इजाजत पत्र लिनुपर्छ । लिएको इजाजतले पर्यटकीय फेवातालमा मात्रै होइन अन्य तालमा समेत माछा मार्न पाइन्छ ।

इजाजत लिन धेरै महंगो शुल्क भने तिर्नु पर्दैन् । केवल १० रुपियाँ भएपुग्छ । दशरुपियाँको इजाजत पत्रले वर्षदिनभरी तालमा बल्छी थाप्न पाइन्छ । दश रुपियाँ बल्छी थाप्ने इजाजत लिएपछि एकवर्षसम्म फेवातालसँगै बेगनास र रुपातालमा बल्छी हान्न पाइन्छ । म्याद सकिएपछि दश रुपियाँ थपेर नविकरण गरे अर्को वर्षनि बल्छी थाप्न स्वीकृति मिल्छ । दश रुपियाँको इजाजत पत्र भने फेवा मत्स्य अनुसन्धान केन्द्रले र्सवसाधारणलाई वितरण गर्छ । बल्छी मात्रै होइन् सानो जाल र महाजाल समेत थाप्न पाइन्छ । त्यसको लागि भने छुट्टै शुल्क तिर्नुपर्छ । 

'अनियन्त्रित माछा मार्ने क्रमलाई रोक्न इजाजत(लाइसेन्स) पत्र अनिवार्य लिनुपर्ने व्यवस्था गरिदिएको छ ।' फेवा मत्स्य अनुसन्धान केन्द्रका प्राविधिक रामप्रसाद ढकालले भन्छन् । फेवातालमा इजाजत पत्र लिएर भन्दा पनि बढी अवैध रुपमा माछा मार्नेको संख्या अधिक छ । खोलानाला र तालमा बल्छी र जाल हैन् विष र करेन्ट लगाएर माछा मार्ने प्रवृत्ति बढी छ । अवैध रुपमा माछा मारिने भएकोले कतिपय स्थानीय जातका माछाहरु समेत लोप भइसकेका छन् । बल्छी र सानो जालको १० र महाजालको १५ रुपियाँ शुल्क लिइने उनी बताउँछन् । उनका अनुसार ८० घरपरिवार जलारीले समेत माछा मार्न इजाजत लिएका छन् ।

पोखरा उपमहानगरपालिका मासबारका माधव अधिकारीले साताको एकपटक बल्छी थाप्न फेवाताल पुग्ने गर्छन् ।'बल्छी थाप्दै माछा मार्नुको मजा नै बेग्लै हुन्छ । साथीभाइ जम्मा भयो बल्छी हान्यो माछा मार्‍यो अनि फर्कियो ।' उनी अनुभव सुनाउँछन् । उनीजस्तै अर्का माछा मार्ने सौखिन कृष्ण लम्साल भन्छन-'तालको बीचमा डुंगामा बसेर बल्छी थाप्न निकै रमाइलो हुन्छ ।'

'अवैध रुपमा लुकिछिपी माछा मार्नेलाई जल संरक्षण ऐन अर्न्तर्गत कार्वाही गरिने छ ।' ढकाल भन्छन्-'ऐन अनुसार ५ हजार जरिवाना गर्न सकिने प्रावधान छ ।' कार्वाही भने प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था गरिएको छ । अवैध माछा मार्ने क्रम रहेपनि कार्वाही भने कसैलाई गरिएको छैन् ।

केन्द्रले स्वदेशीलाई मात्र होइन बल्छी थापेर माछा मार्ने सौखिन विदेशीलाई समेत इजाजत पत्र प्रदान गर्ने गरेको छ । जापान, हल्याण्ड, युके, अमेरिकन लगायतका देशबाट घुम्न आएका पर्यटकहरुले समेत इजाजत पत्र लिएको तथ्यांक केन्द्रसित रहेको उनको दावी छ । 'स्वदेशी र विदेशी गरी करीव १ सय भन्दा बढीले इजाजत पत्र लिएका छन् ।' ढकाल भन्छन्-'ती मध्ये १० प्रतिशतले मात्रै नविकरण गर्ने गर्छन् । उनका अनुसार वर्षोनी नयाँले इजाजत पत्र लिने गरेका छन् । माछा मार्ने रहरले धेरैजसो इजाजत लिएकाहरु एकहप्ता नियमित रुपमा बल्छी थाप्न आउँछन् । त्यसपछि आउदैनन् । इजाजत लिएकाहरुलाई केन्द्रले जेठदेखि आश्विनसम्म हर्पन खोलाको मुहानदेखि स्थानीय पामेस्थित घाँटीछिनासम्म बल्छी र जाल थाप्न प्रतिबन्ध लगाएको छ । माछाको प्रजनन समयमा मुहानमा पुग्ने भएकोले त्यो समयमा माछा मार्न बन्देज लगाइएको ढकालको भनाई छ । ' प्रजननको समयमा जथाभावी रुपमा बल्छी र जाल थापियो भने लोप हुने खतरा हुन्छ ।' उनी भन्छन्-'त्यसैले प्रतिबन्ध लगाइएको हो ।' त्यतिमात्र नभई केन्द्रले बाराही मन्दिर वरपर जाल थाप्न समेत रोक लगाएको छ ।