पूर्व फुटवल खेलाडी राजु गुरुङ
शिव शर्मा 'चञ्चल'
पोखरा



कसैको धारिलो वचनले राइजमा हुदा हुदै मैले फुटवल खेल त्याग्न बाध्य भए - पूर्व फुटवल खेलाडी राजु गुरुङ

राजु गुरुङ, पूर्व  चर्चित फुटवल खेलाडी । गण्डकी अञ्चलबाटै पहिलो पटक मनाङ मर्स्याङदी क्लवमा अनुबन्धित भएर उनले आफनो खेलकुद जीवनमा राम्रो प्रभाव छोड्न सफल भए । त्यस्तै त्यसमा चार वर्षजति आर्मी क्लवबाट पनि खेले । उनले मिडफिल्डरको रुपमा आफनो दरिलो पहिचान बनाएका थिए । बगर पोखराका स्थायी वासिन्दा उनको श्रीमति र दुई छोरा छन् ।

विगतको इतिहास कोट्याउदा मोफसलको शहर पोखरामा फुटवलमा कृष्ण थापा पछि उनले राम्रो छाप छोडेका थिए । नेपालमा मात्र हैन विदेशीमा समेत थुप्रै पटक फुटवल खेलेर गण्डकी अञ्चल त्यसमा पनि पोखराको छविलाई उच्च पारे । तर एक दर्शकको समय फुटवल खेलमै बिताएका गुरुङ अहिले विक्कुलै आफनो चर्चा भन्दा बाहिर छन् । नत उनलाई खेलुकद परिषदले नै चिन्यो न त आफुलाई खेलुकदका हिमायति भन्नेहरुले नै । यतिका समय पोखराबाट छनौट भएर राष्ट्रिय स्तरकै क्लवबाट फुटवल खेलेर अहिले उनि आफनै व्यपार व्यवसायमा लागेका छन् । महेन्द्रपुल स्थित ओपन हाउस बिल्डिङ भित्र स्पो्रर्टस संग सम्बन्धीत मेसुका स्पो्रर्टस संचालन गरेका छन् । उनको त्यो खेलजीवनले अहिले २० वर्षनाघीसकेको छ । ओझेलमा परेका एउटा हनोहार राष्ट्रिय फुटवल खेलाडीसंग आउनुहोस हामी केही छिन् भलाकुसारी गरौ र उनको खेलजीवनको बारेमा केही कुरा थाहा पाउ :-


१. कसरी खेलक्षेत्रमा प्रवेश गर्नु भयो ?

खास त मेरो फेम्ली बेगग्राउण्ड नै खेलमय थियो । मेरो दिदी नै भलिबलको चीप कोच हुनुहुन्थ्यो । त्यसपछि मेरो पनि खेलक्षेत्रमा अभिरुची पैदा भयो । म खेलकुदमा छिरेपछि मेरो परिवारका अन्य सदस्यहरु पनि खेल्न थाले । वडा-वडामा हुने फुटवल टुनामेन्टहरुमा भाग लिदै गए । लगात्तार तीन वर्षसम्म वडा स्तरमा सिमीत भए । म तीन वर्षनै वेष्ट पिलियर बनेको थियो ।


२. के शुरुमा खेलाडी नै बन्छु भनेर खेल्नु भएको हो ?

पहिला त अध्ययनलाई नै अगाडी बढाउने सोचाईमा थिए । तर रहरमा खेल्दै जादा ममा खेलुकदको रंग चढ्यो । शुरुमा त बक्सिङ खेल्थे । बक्सिङ खेल्दा पिर्टाई धेरै खाईयो । फुटवलमा मनाङमर्स्याङदी क्लवका लागि गण्डकी अञ्चलबाट छनौटमा परे र बक्सिङ खेल छोडे । फुटवल नै मेरो अगाडीको करिअर बन्यो ।


 ३. एउटा गुरुङ समुदायमा हुर्केको ठिटो लाहुरे हुने सोच आएन ?

शुरुमा लाहुरेका लागि बेलायतका लागि देखिए । तर अपसोच फाइनलमा पुगेर फालिए । तर एकपटक नभएपछि अर्को पटक पुन प्रयास गरिन । नेपाली सेनामा सेकन्ड ल्याप्टनका लागि अफर पनि आएको हो तर मैले त्यतातिर ध्यान दिइन । एउटा सफल खेलाडी नै बन्छु भनेर मरिमेटेर लागे । पहिलो पटक फुटवलको ट्रयाकसुट पहिरिदा भर्ति भएर लाहुरेले बर्दी लगाएको भन्दा बढी गर्वको महशुस भएको थियो मलाई ।


४. कति वर्ष खेल्नु भयो फुटवल ?

मैले लगात्तार दस वर्षफुटवल खेलेर बिताए । पहिलो पटक सन् १९८३ मा नेपालको जुनियर टिमवाट थाइल्याण्डमा भएको अन्डर सिक्सटीनका लागि गण्डकी अञ्चलबाट मैले खेल्ने सौभाग्य पाएको थिए ।


५. नेपाल बाहेक विदेशमा कुन- कुन देशमा खेल्नु भयो ?

१९८६मा थाइल्याण्डमा अनडर नाइनटिन, १९८७ मा पाकिस्थानमा , सोही वर्षबंगलादेशमा अन्तरक्लव टुनामेन्ट, त्यस्तै सोही वर्षनै भुटान, १९८८ मा पाकिस्थानको कराचीमा र सोही वर्षपुन भुटानमा भएको टुनामेन्टमा सहभागी भएर राम्रो नतिजा पनि आयो ।


६. यतिका वर्ष खेलेर के पाउनु भयो त ?

कुनै स्वार्थ परिपुर्तिका लागि म खेलक्षेत्रमा हाम फालिन । नाम र देशका लागि केही योगदान पुगोस् भनेर नै म खेलक्षेत्रमा लागे । मुख्य त खेलेर सन्तुष्टी पाए । आर्थीक सवलता त केही पाइन । धेरै दर्शकले मलाई राम्रो फुटवलरको रुपमा चिने । यो नै मेरो लागि यो क्षेत्रमा लागेर ठुलो कमाई भयो ।


७. कति सालदेखि फुटवल खेल्न छाडनु भयो ?

सन् १९८९ देखि मैले फुटवल खेल्न छाडेको हु । जति बेला म 'राइज' मा नै थिए । तर मैले रहरले छाडेको भने निश्चित रुपमा हैन । त्यतिबेला हाम्रो कोच शिवभक्त श्रेष्ठ हुनुहुन्थ्यो । विदेशका लागि फुटवल खेल्ने जाने तयारी भएको थियो । तर उहाले मलाई  'तिम्रो लागि अहिले कोटा छैन' भनेर मेरो ठाउमा अरुलाई नै छान्नु भयो । यो कुराले मेरो मनमा ठुलो चोट पुग्यो । एक प्रकारले मलाई यस्तो पनि लाग्यो-खेलकुद क्षेत्रमा पनि नातावाद हावी हुदोरहेछ । मेरो खेलप्रतिको उत्साह त्यसपछि एकाएक मर्‍यो ।  


 ८. फुटबल खेल्न छाडेपछि कता लाग्नु भयो नि ?

मेहनत गर्दा गदै पनि कोचवाट म प्रति असन्तुष्टि जाहेर गरेपछि मलाई नरमाइलो अनुभूति भयो । दिउसोको १२ वजेको टन्टालापुर घाममा एक्लै फुटबलको ट्रेनिङ्ग गर्थे । यो देखेर मलाई धेरैले बोलाहा पनि भने । फुटवल खेलप्रतिको मेरो एउटा उत्साह यसरी एकाएक कसैको सहन नसक्ने धारिलो वचनले भताभुङ्ग भयो । म त्यसको लगत्तै केही कमाउनका लागि जापान पुगे । करीव ९ वर्षम जापान मै बसे । सायद फुटवलको नसा ममा नहटेर होला मैले जापानमा रहदा पनि ३५ जना बालबालिकालाई लिएर फुटवलको तालिम पनि दिए ।


९. तपाईले खेल क्षेत्रमा लागेर के पाउनु भयो र के गुमाउनु भयो ?

मुख्य कुरा त खेलक्षेत्रमा लागेर सवैभन्दा ठुलो त दर्शकको माया पाए । शिक्षा पुरा गर्न सकीन गुमाएको यही हो जस्तो लाग्छ । विदेशमा जानका लागि सेलेक्सनमा नपरेर जापान गए र पैसा कमाए ।


१०. तपाईलाई के लाग्छ खेलकुद क्षेत्र पनि नातावाद र कृपावादमा फसेकै हो र ?

अन्य क्षेत्रमा जस्तै यो क्षेत्र पनि नातावादबाट अछुत छैन । राम्रो खुवी र क्षमता भए पनि खेलाडीले राम्रो अवसर पाउन कोचको चाकडी गर्नुपर्छ । कोचको नजरमा नपरे राम्रो खेलाडी बन्न मुस्किल पर्दोरहेछ । राजधानी भन्दा वाहिर बसेकालाई हेर्ने दृष्टिकोण नै ठिक छैन । राजधानीमा बस्ने मात्र खेलाडी भन्ने मान्यता अहिले पनि कायम छ । सायद म पनि मोफसलकै भएका कारण त्यतिबेला कोचमा नजरमा नपरको हुन सक्छु ।


११. तपाईका समकक्षी फुटवलहरुको नाम लिनु पर्दा ?

मनिश शाह, उमेश प्रधान, राजुमान तुलाधर, विराटजंग शाह, मेरा समकक्षीहरु हुन । म गणेश थापा संग पनि खेले ।


१२. अहिले नेपालको खेलकुद क्षेत्रले व्यवसायिकताको धार समातको जस्तो लाग्छ तपाईलाई ?

पहिलाको तुलनामा अहिले तुलनात्मक सुधार आएको छ । पहिला मैले खेल्दा तलब भन्ने कुरा नै थिएन । अहिले खेलाडीले तलव पाउछन् । व्यवसायिक त नभनौ नेपालको खेलकुद क्षेत्र अर्धव्यवसायिकतको मोडमा भने आइपुगेको छ ।


१३. फुटवल खेल्ने क्रममा तपाईको कुनै अविस्मरणीय घटना छ ?

त्यस्तै अन्दाजी १९८७ तिरको कुरा हो । मनाङ मर्स्याङदी को तर्फाट म टुनामेन्टका लागि । विरंगञ्जमा खेल्न गएको थिए । जुन टुनामेन्टमा हामी दोस्रो भएका थियौ । त्यो खेलमा एकाएक मनाङ र । विरंगञ्जका दर्शक बीच झगडा शुरु भएर मुठभेड कै रुप लियो । धेरैको टाउको फुट्यो । हामीलाई सम्म केही हुन सकेन । बल्ल तल्ल जोगियौ । विरंगञ्जबाटै दर्शक उल्टेर आए । हामी बसेको होटल सम्म आएर ढुङ्गामुढा गर्न थाले । प्रहरीले नसकेर हामीलाई आर्मिले सुरक्षा दिनुपरेको थियो । आर्मि र पुलिसको निगरानीमा हामीलाई हेटौडा सम्म ल्याएर छोडिएको थियो । त्यतिवेला यो घटना धेरै ठुलो भयो ।



१४. अहिले तपाई के गर्नुहुन्छ ?

म जापानवाट आएको पनि दस वर्षभइसकेको छ । केही वर्ष होटल विजनेस पनि गरे । करीव चार वर्षओपन हाउस चलाए । अहिले खेलकुद संग सम्बन्धीत स्पोर्टस बिजनेस गरको छु । खेलकुदकै मायाले गर्दा स्पो्रर्टस पसल चलाएको हु? ।